दाङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनविरुद्ध कांग्रेससँग मिलेर आन्दोलन गर्ने तयारी भइरहेको खुलासा गरेका छन् । दाङको घोराहीमा शनिबार प्रेस संगठनले गरेको कार्यक्रममा बोल्दै नेपालले लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेस र आफ्नो पार्टीको काँधमा आएको बताए ।
‘फेरि लोकतन्त्र जोगाउने जिम्मा हाम्रो र कांग्रेसको काँधमा आइसकेको छ, त्यसका लागि संयुक्त आन्दोलनको विकल्प छैन, हामीले कांग्रेस लगायत विभिन्न पार्टीसँग छलफल गरिरहेका छौँ’, उनले भने । उनले संयुक्त आन्दोलनका विषयमा कांग्रेस सभापति देउवासँग छलफल भइसकेको र देउवासमेत संयुक्त आन्दोलनलाई लिएर सकारात्मक रहेको बताए ।
नेपालले पार्टी विभाजन ओलीकै कारण भएको समेत आरोप लगाए । उनले एकताका लागि वामदेवले गरिरहेको प्रयाससमेत सम्भव नहुने तर्क गरे ।