विराटनगर । विराट गोल्डकपको आठौं संस्करणमा घाटा भएको जनाईएको छ । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबलको आठौं संस्करण घाटामा गएको हो
गतवर्ष चैत्र १५ गतेबाट २२ गतेसम्म सम्पन्न गोल्डकपले २२ लाख ६२ हजार रुपैया घाटा भएको ट्रष्टले जनाएको छ । आईतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ नदिँदा गोल्डकप घाटामा गएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।
प्रतियोगितामा ८२ लाख ६० हजार ८३५ आम्दानी भएको थियो । कूल खर्च १ करोड ५ लाख २३ हजार ६४३ भएको अध्यक्ष शाहीले जानकारी दिए । उनले भने,‘ २२ लाख ६२ हजार ८०८ कूल घाटा भयो ।’ प्रदेश सरकारले विराट गोल्डकपसँगै झापा गोल्डकप, बुढासुब्बा गोल्डकप र इटहरी गोल्डकपलाई समेत रकम दिन नसक्दा गोल्डकप आयोजकहरु समस्यामा जनाईएको छ । विराट गोल्डकप आयोजक ट्रष्टका पदाधिकारीले अझैपनि बजारमा १० लाख रुपैयाँ बढी तिर्न बाँकी रहेको बताउँदै आएका छन् ।
गोल्डकपका लागि आयोजक ट्रष्टले १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको थियो ।
गोल्डकप घाटाका बाबजुत पनि ट्रष्टले नवौं संस्करण आगामी फागुन २२ गतेदेखि गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) ले विराट गोल्डकपका लागि फागुन २२ गतेदेखि समय तालिका दिएको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिए ।