काठमाडौं माघ ४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताको टाउको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको बताएका छन् । ‘मलाई किन, किन के चिलाएको हो ? टाउको चिलाएको हो कि, के हो ? मलाई लाठी खान मन छ यसपटक,’ प्रचण्डको भनाई छ, ‘म तपाईहरुको टाउको रक्षाको लागि मेरो टाउको फुटाउन तयार छु ।’
युवा विद्यार्थीको भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले आवश्यक परे आन्दोलनमा घेरा समेत तोड्ने बताए । यसपटकको आन्दोलनमा आफु युवाहरु भन्दा अघि उभिने प्रचण्डले उद्घोष गरे । प्रचण्डले आफु आन्दोलनका क्रममा आफ्नो टाउको फुटाउन समेत पछि नपर्ने बताए । उनले भने , ‘हामी सबैभन्दा अगाडि हुन्छौं, हाम्रो टाउको फुटेर केहि हुनेवाला छैन, तपाई युवाहरुको टाउको नफुटोस् भन्ने तिर अब हाम्रो ध्यान हुन्छ ।’
प्रतिनिधि सभा विघटन पछि नेकपाका अध्यक्ष र प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड निरन्तर आरोप प्रत्यारोपमा उत्रिएका छन् । यसैक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएपछि जवाफमा प्रचण्डले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएका बेला हाँस्न नसकेको बताए। प्रतिनिधि सभा विघटन गरेपछि सिंगो देश स्तब्ध रहेको यस्तो बेला हाँस्न नसकिने उनको भनाइ छ ।
आइतबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रचण्डले भने, ‘मैले मिडियामा हेरेँ, हाम्रो प्रधानमन्त्रीजीले भन्नुभएछ, ‘मैले हँसाएर किन पीर परेको होला ? त्यो मलाई नै भनेको हो उहाँले । उहाँले हँसाएकोमा मलाई किन पीर परेको होला भनेर प्रश्न गर्नु भएको रहेछ । मलाई किन पीर परेको भने, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ ।’
प्रधानमन्त्री ओली प्रति आक्रामक अभिव्यक्ति दिँदै प्रचण्डले ओलीलाई जोकरको संज्ञा दिए । प्रधानमन्त्री ओलीले भ्रष्टचार गर्दिन , भ्रष्टचारीको अनुहार पनि हेर्दिन भन्ने अभिव्यक्ति सुन्दा राम्रो रहे पनि ओलीले भ्रष्टचारीको संरक्षण गरिरहेको पनि प्रचण्डले दाबी गरे । युवाहरुलाई सम्बोधन गर्र्दै प्रचण्डले भने, ‘भ्रष्टचार गर्दिन, भ्रष्टचार सहन्न र भ्रष्टचारीको अनुहार समेत हेर्दिन, सुन्दा त यो भन्दा अर्को राम्रो करा के होला र, तर उनको यो अभिव्यक्तिले भ्रष्टचारीहरुलाई संरक्षण गर्न मद्दत गर्यो ।’
नेपाली जनता गणतन्त्रका लागि संघर्ष गर्दा ओली हाँस्दै हिँडेको आरोप समेत प्रचण्डले ओलीलाई लगाए । उनले भने, ‘हामी भित्र आवेग छ, हामी भित्र आक्रोश छ, हामी भित्र घृणा छ प्रतिक्रान्तिकारीप्रति र हामी उनिमाथि जाईलाग्न चाहेका छौं ।’