काठमाडौं । पछिल्ला वर्ष निजी क्षेत्रले होटल व्यवसायमा ठूलो लगानी गरेको छ । निजी लगानीमा पर्यटकीय गन्तव्यहरुमा तारेस्तरका होटल निर्माण भइरहेको छ ।
यस्तै सिमेन्ट व्यवसायी पोखरेल परिवारले रुपन्देहीको भैरहवामा पाँचतारे होटल बुद्धस्टार सञ्चालनमा ल्याउन लागेका छन् । अग्नि सिमेन्ट र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
यसअघि बुद्धस्टारलाई तीन तारे होटल बनाउने तयारी भएकोमा पछि चारतारे बनाइएको थियो । अहिले स्तरोन्नती गरि पाँचतारे बनाएको छ ।
होटल पूर्वाधार निर्माणको चरणमा रहेको छ । यो वर्ष सञ्चालनमा ल्याउन तयारी गरिएकोमा ढिलाइ हुन गएको छ । अहिलेसम्म ४६ प्रतिशत वित्तीय प्रगति भएको होटलले जनाएको छ । होटलमा ७० प्रतिशत बैंकबाट ऋण र बाँकी ३० प्रतिशत पोखरेल परिवारको स्वपुँजी (इक्विटी) लगानी छ ।
होटलमा १ सय २० वटा कोठा बन्ने भएका छन् । यसअघि ८७ करोड रुपैयाँ लगानीमा ६३ कोठाको होटल बनाउन लागिएको थियो । होटल सन् २०१९ को नोभेम्बरदेखि निर्माण सुरु भएको हो ।
मूल समयरेखाअनुसार होटल परियोजना सन् २०२२ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारीको प्रकोपपछि होटलको डिजाइन परिवर्तन गरी चारतारेबाट पाँचतारे बनाएपछि लागत र समय दुबै बढेको हो ।
होटलले ६६ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । होटल निर्माण तुलनात्मक रूपमा सुस्त गतिमा रहेको छ । होटल परियोजना ऋण र इक्विटीको एक ठूलो भाग लगानी गर्न बाँकी छ ।
होटल भैरहवा, लुम्बिनी विश्व सम्पदा स्थल (युनेस्को) नजिक छ । जुन लोकप्रिय पर्यटकीय गन्तव्य हो । होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित छ । विमानस्थल नजिक भएकाले होटलले व्यवसायिक लाभ लिन सक्ने बताइएको छ ।
नेपाली सिमेन्ट उद्योगका खेलाडीहरू र विभिन्न सरोकारवालाहरू होटेलका लागि सम्भावित ग्राहकहरूसँग राम्रो सम्बन्धले पनि होटल बिजनेस बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बुद्धस्टार २०१८ को नोभेम्बरमा स्थापना भएको हो । सिमेन्ट व्यवसायमा रहेका पोखरेल परिवारको होटलमा भएको यो पहिलो लगानी हो ।होटलका सञ्चालक राजकुमार पोखरेल हुन् ।
भैरहवा क्षेत्र व्यापार र पर्यटन केन्द्रको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू भर्खरै सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान संख्या बढेपछि भैरहवाका होटलमा अकेपेन्सी दर बढ्ने छ । भैरहवालगायत मुलुकका विभिन्न पर्यटकीय गन्तव्य र प्रमुख शहरहरुमा तारेस्तरका होटल निर्माण भइरहेका छन् ।
भैरहवामा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले साढे दुई अर्ब रुपैयाँ लगानीमा बनाएको सिद्धार्थ बिलासा होटल २०८० असारदेखि सञ्चालनमा छ । पाँचतारे होटलको रूपमा टाइगर पार्टी प्यालेस र पवन इन्टरनेशनल सञ्चालनमा छन् । गत वर्ष फागुनदेखि भैरहवामा ५० करोड रुपैयाँ लगानीमा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ ।
यो पनि :
पोखरेल परिवारको शुभश्री र अग्नी सिमेन्टको बिजनेस सवा ३ अर्ब, चारतारे होटल सञ्चालनमा ल्याउँदै