logo

२०८१ माघ ३ बिहिबार

logo
  • बिहिबार, ३ माघ २०८१
  • भन्सारदर बढाउने ट्रम्पको घोषणाले चीन र भारतको टाउको दुखाइ, डलर झनै बलियो बन्दै

    भन्सारदर बढाउने ट्रम्पको घोषणाले चीन र भारतको टाउको दुखाइ, डलर झनै बलियो बन्दै

    924
    Shares
    भन्सारदर बढाउने ट्रम्पको घोषणाले चीन र भारतको टाउको दुखाइ, डलर झनै बलियो बन्दै

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले संरक्षणवादी नीति लिने संकेत गरेका छन् । उनले ब्रिक्स मुलुकहरुलाई लक्षित गर्दै डलरको विकल्पमा साझा मुद्रा ल्याए भन्सारदर सत्प्रतिशत बढाउने धम्की दिएका छन् ।

    यस्तै ट्रम्पले अमेरिकाको तेल नकिने भन्सार दर बढाउने चेतावनी युरोपेली संघ (इयू) लाई दिए । अधिक व्यापार घाटा व्योहर्दै आएको अमेरिकाले अहिले आफ्ना उत्पादन बेच्न र डलरको कारोबार बढाउन भन्सारदर लगाउन विश्वलाई धम्की दिइरहेको छ ।

    राष्ट्रपतिको कार्यभार नसम्हाल्दै घोषणा गरेका केही नीतिका कारण विश्व अर्थतन्त्रमा अब के होला भन्ने त्राश देखिएको छ । यसको प्रत्यक्ष असर डलर बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ । अमेरिकाको अर्थतन्त्र झनै मजबुत बन्दै गएको छ ।

    भन्सारदर बढाउने ट्रम्पको चेतावनीले विश्वमा अमेरिकी डलर बलियो हुँदै गएको छ भने स्थानीय मुद्रा कमजोर भएको छ । डलर महंगीको असर नेपाल र भारतलगायत विश्वभरी परेको छ । यसको बढी असर भारत र चीन जस्ता उदीयमान अर्थतन्त्रमा परेको छ ।

    डलर झनै मजवुत भएर बुधबार १३८.९२ रुपैयाँसम्म पुगेको छ । बुधबारको तुलनामा बिहीबार केही कम भए पनि डलर अझ माथि पुग्ने देखिएको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनासाथ डलर महंगिएर १३५.१६ रुपैयाँ पुगेको थियो । गत कात्तिक २१ गतेदेखि डलरको ग्राफ निरन्तर उकालो लागेको छ ।

    भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । मंगलबार १ डलर बराबर ८६.५७ भारुसम्म पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    ट्रम्पले भन्सारदर बढाउछु भनेपछि यसको सकरात्मक असर डलरमा परेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट बताउँछन् । सुनौलो नेपालसँग कुरा गर्दै डा. भट्टले भने ‘ट्रम्पको भन्सारदर बढाउने घोषणाले लगानीकर्ता अमेरिकामा केन्द्रीत भएको अवस्था छ । अहिले लगानी अमेरिका गएका कारण अन्य मुलुकमा लगानीमैत्री वातावरण देखिएको छैन् । विश्वास बढेको देखिएको छैन ।’

    ट्रम्पले राष्ट्रपतिको कार्यभार नसम्हालेसम्म आर्थिक नीतिका बारेमा भन्न नसकिने उनले बताए ।

    ट्रम्प प्रशासनले लगाउने भन्सारदरले भारत र चीनलगायत अन्य उदयिमानको अर्थतन्त्र प्रभावित भएको छ । चीन र भारतलगायत अर्थतन्त्र सुस्त देखिएको उनको भनाइ छ ।

    ‘डलरको मूल्य बढ्नु नेपालका लागि गम्भीर विषय भएको छ । निर्यात कमजोर भएकाले नेपाललाई असर पर्छ’ उनले भने ‘रेमिट्यान्स धेरै बढ्ने संभावना छैन । आयातीत वस्तु थप महंगो हुने र मूल्य बढाउने देखिन्छ ।’

    दुई महिनाअघि भारतमा डलर सञ्चिती बढेर ७ खर्ब डलर कटेको थियो । अहिले डलर सञ्चिती निरन्तर घटेर ६ खर्ब ४० अर्ब भन्दा तल छ । यसबीचमा भारतमा ६२ अर्ब डलर सञ्चिती घटेको छ । भारतबाट डलरमा भएको लगानी अमेरिकातिर फिर्ता गइरहेको देखिन्छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा भारु कमजोर हुन बल पुगेको हो ।

    रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरेलले हमास, हजबुल्लाह इरानमा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएको हो । विश्व बजारमा डलर महँगो बन्दै गएको अवस्थामा ट्रम्पको ह्वाइट हाउसमा भएको पुनरागमनले अमेरिकी अर्थतन्त्र मजवुत हुने देखिएपछि डलर झनै बलियो भएको अनुमान अर्थशास्त्रीहरुको छ ।

    ट्रम्प सत्तामा आएपछि रुस र युक्रेन युद्ध समाप्त हुने संभावना देखिएको छ । युद्ध अब खाडी मुलुकमा हुनेछ । जो बाइडेनका पालामा इजरेल कमजोर देखिएकोमा अब ट्रम्प आएपछि बलियो हुनेछ । इजरेलसँग प्रोक्सि वार गरिरहेको इरानलाई असर पर्ने देखिएको छ । खाडीमा युद्ध चर्किए पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध आई मूल्य बढ्ने छ ।

    विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । क्रिप्टो करेन्सी बिटक्वाइनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

    डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्नेछ । नेपालमा विदेशी मुद्रा सञ्चितीले नयाँ रेकर्ड राखेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड रहेको छ । १६ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।

    यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले यस बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

    डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

    यो पनि : 

    डोनाल्ड ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयर र बिटक्वाइनमा उछाल

    डलरको विकल्प खोजे भन्सारदर १०० प्रतिशत बढाउने ब्रिक्स मुलुकलाई डोनाल्ड ट्रम्पको चेतावनी

    ब्रिक्सपछि इयुलाई ट्रम्पको चेतावनी, तेल र ग्यास नकिने थप कर लगाउने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend