सिमरा माघ ११ । बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक सङ्घ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा चन्दननाथ गण र नं २८ फि.ए. गुल्मको संयोजकत्व र सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो ।
नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउन र जनतासँग प्रत्यक्ष घुलमिल गर्न सहयोग पुयाउने उद्देश्यले शिविरको आयोजना गरिएको श्री नम्बर २८ वाहिनीका वाहिनीपति जोनसन खड्काले जानकारी दिए । श्री नं २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए । ‘दुःखको बेला नेपाली सेना जनतासँग’ भन्ने नेपाली सेनाको अभियानअनुसार कोरोना भाइरस तथा आर्थिक विपन्नताका कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए ।
स्वास्थ्य शिविरमा करीब ७०० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १८९ महिला, १४५ पुरुष र ७६ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधि प्रदान गरिएको हो । महिलामा धेरै सन्तान जन्माउने कारणले हुने समस्या शिविरमा उपस्थित अधिकांश महिलामा देखिएको चिकित्सक अधिकृत सहसेनानी दृष्टिना प्रधानले बताइन् । स्वास्थ्य परीक्षण गर्दा स्थानीयवासीमा श्वासप्रश्वास, ग्यास्ट्रिक, हाडजोर्नी, एलर्जी, आँखाको समस्या, पेटसम्बन्धीका रोगहरु बढी मात्रामा देखिएको र शिविरमा स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, इसिजीलगायत सेवाहरु प्रदान गरी निःशुल्क औषधि वितरण गरिएको थियो । रासस