लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् ।
आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताए ।
राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिए । उनले निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै प्रशंसा गरे ।
राष्ट्रपति पौडेलले आफू २०४८ सालदेखि राजनीतिमा लागेको बताए । उनले भने, “गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ । विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।”
राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपति पौडेलले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राखे । ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उनको भनाइ छ ।
अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताए ।
सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उनले जोड दिए ।