शनिबार, फाल्गुन १७ २०८१

शनिबार, फाल्गुन १७ २०८१

सरकारले बहुमतको दम्भमा अध्यादेश ल्यायो : वरिष्ठ उपाध्यक्ष पाण्डे

सरकारले बहुमतको दम्भमा अध्यादेश ल्यायो : वरिष्ठ उपाध्यक्ष पाण्डे

बैठकमा धारणा राख्दै एकीकृत समाजवादीका सांसद पाण्डे काठमाडौँ, १८ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डे दलीय आधारमा सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा धारणा राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गरे । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो ।

“सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ । तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ”, उनले भने, “अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ । अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डोर्याउँछ ।”

सांसद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताए । सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको पनि उनको दाबी थियो ।

“आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धी के हुन् ?”, उजले प्रश्न गरे ।

त्यस्तै, सबै निर्वाचन क्षेत्रका लागि रणनीतिक सडक निर्माण र सबै पालिकामा स्वास्थ्यचौकी निर्माणको कार्य निकै सुस्त रहेको पाण्डेले बताए । बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्रताका साथ अघि बढाउन पनि उनले माग राखे । कृषिमा आत्मनिर्भर हुने कुरामा सरकारको ध्यान जान नसकेको समेत उनको भनाइ छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend