बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

माथिल्लो कर्णाली बनाउन जिएमआरले पेश गरेको वित्तीय प्रस्ताव लगानी बोर्ड बैठकमा पेश हुँदै

माथिल्लो कर्णाली बनाउन जिएमआरले पेश गरेको वित्तीय प्रस्ताव लगानी बोर्ड बैठकमा पेश हुँदै

काठमाडौं । प्रस्तावित ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन भारतको जिएमआर इनर्जी लिमिटेडको वित्तीय व्यवस्थापन प्रस्ताव अब बस्ने लगानी बोर्डको बैठकमा पेश हुने भएको छ ।

आयोजनाबाट व्यवसायिक उत्पादन हुने मितिसम्मका कार्ययोजना बोर्डमा पेश भएको छ । जिएमआरले पेश गरेको लगानी प्रस्ताव आउने बोर्डमा पेश गरिने बोर्डका प्रवत्ता प्रध्युम्न उपाध्यायले सुनौलो नेपाललाई बताए ।

जिएमआरको आयोजना अनुमति अवधि गत माघ ४ गतेसम्म थियो । जिएमआरले माघ २ गते नै वित्तीय व्यवस्थापनको प्रस्ताव बोर्डमा पेश गरेको थियो ।

लगानी बोर्डको ६०औं वैठकले भारतको जिएमआर इनर्जीले पेश गरेको नयाँ सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव गत मंसिरको पहिलो साता स्वीकृत गरेको थियो ।

माथिल्लो कर्णालीमा पाँच नेपाली बैंकहरुले लगानी गर्ने भएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) को अगुवाइमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् । एनआइएमबीको अगुवाइमा एभरेष्ट बैंक, सनराज लक्ष्मी बैंक र एनएमबी बैंक रहेका छन् । स्वीकृत कर्जा र सीमाअनुसार एनआइएमबीले ३० करोड रुपैयाँ विकासकर्ता जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको खातामा पठाएको बैंकको पत्र पेश गरेको छ ।

एनआइएमबीको अगुवाईबाट ४२ अर्ब रुपैयाँ लगानी हुदाँ र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) ले ६५ अर्ब भारु (१ खर्ब ४ अर्ब रुपैयाँ) लगानी गर्ने जानकारी जिएमआरले दिएको छ ।

आयोजना बनाउन कूल १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जिएमआरले लगानी बोर्डलाई जानकारी गराएको छ । जसमध्ये जिएमआर इनर्जी, एसजेविएन लिमिटेड र इरेडाले ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन् भने बाँकी ७० प्रतिशत कर्जा लगानी हुने गरि लगानी संरचना बनाएको जानकारी दिएको छ ।

इरेडाले गर्ने भनेको ४५ अर्ब भारु लगानी स्वीकृतिका लागि सर्तसहित आशयपत्र पेश गरेको जिएमआरले जनाएको छ । जिएमआरले पावर फाइनान्स कर्पाेरेशन इन्डिया लिमिटेडबाट पनि ६५ अर्ब भारु कर्जा लगानीको आशयपत्र पेश भएको जनाएको छ । इरेडाबाट नभए पावर फाइनान्सबाट पनि लगानी जुट्ने जानकारी जिएमआरले दिएको छ ।

नयाँ लगानी संरचनाअनुसार जिएमआर इनर्जीका अतिरित्त जिएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जिएमआर जिएमआर लायन इनर्जी लिमिटेड, एसजेभिएन लिमिटेड, नेपाल विद्युत प्राधिकरण र जिएमआर अपर कर्णाली हाइड्रोपावरसँग संयुक्त लगानी (जेभी) सम्झौता पेश भएको छ ।

लगानी बोर्डको आगामी सञ्चालक समिति बैठकमा जिएमआरको लगानी प्रस्ताव पेश हुने भएको छ । जसअनुसार जिएमआर र एसजेभिएनको बराबर अर्थात ३४ ३४, विद्युत प्राधिकरणको २७ र इरेडाको ५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाएको छ ।

गत भदौको तेस्रो साता जिएमआरले भारतको नयाँ दिल्लीमा सतलज जलविद्युत निगम लिमिटेड र इरेडालाई साझेदार बनाएको हो । आयोजना बनाउन लगानी जुटाउन नसकेपछि जिएमआरले साझेदार खोजेको हो ।

१२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि जिएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । जिएमआरले नेपाललाई १ सय ८ मेगावाट बिजुली निःशुल्क दिनुपर्ने आयोजना विकास सम्झौता (पिडिए) मा उल्लेख छ ।

माथिल्लो कर्णाली आयोजना बनाउन जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ । सन् २००८ मा प्रतिस्पर्धाबाट जिएमआरले आयोजना पाएको हो ।

पहिला ३ सय ९ मेगावाटको भए पनि पछि जिएमआरले क्षमता बढाएर ९ सय मेगावाट बनाएको हो । २०७१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जिएमआर र लगानी बोर्ड नेपालबीच पिडिएमा हस्ताक्षर भएको थियो । त्यसबेला जिएमआरले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको थियो ।

आयोजना पाएको १६ वर्ष बितिसक्दा पनि जिएमआरले लगानी जुटाउन सकेको थिएन । लगानी बोर्डले पटक पटक उसको म्याद थप्दै आएको थियो ।

सरकार र जिएमआरबीच ०६५ सालमा आयोजना निर्माणका लागि एमओयू भएको थियो । ०६८ मा लगानी बोर्डको स्थापना भएपछि लगानी बोर्ड ऐन, ०६८ को प्रावधानअनुसार माथिल्लो कर्णालीलाई बोर्डको मातहत राखिएको हो । कर्णाली प्रदेशको अछाम, दैलेख र सुर्खेत भएर बग्ने कर्णाली नदीमा आयोजना रहेको छ ।

अर्धजलासय (पिआरओआर) आयोजनाबाट वार्षिक ३ अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ सय केभी क्षमताको १ सय किलोमिटर लामो प्रसारण लाइन बनाएर भारतको उत्तरप्रदेशस्थित बरेलीमा जोड्ने योजना रहेको छ । आफै निर्माण, सञ्चालन र हस्तान्तर (बूट) नीतिअनुसार आयोजनाको जिम्मा जिएमआरलाई दिइएको हो ।

आयोजनाको सुरुङको लम्बाइ ३ किलोमिटर मात्र भएको र बढी ऊर्जा उत्पादन हुने भएकाले आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ ।

आयोजनाबाट उत्पादन हुने मध्ये ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्न जिएमआरले बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गरेको छ । आयोजना बनाउन स्रोत सुनिश्चित नहुँदा सम्झौता हुन सकेको छैन् ।

यो पनि :

माथिल्लो कर्णाली आयोजनाको सेयर सतलज र इरेडालाई बेचेपछि जिएमआर पुग्यो लगानी बोर्ड

सतलज र इरेडाको प्रवेशले १६ वर्षदेखि जिएमआरले बन्धक बनाएको माथिल्लो कर्णाली आयोजना बन्ला ?

माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend