भारतमा भएको किसान आन्दोलनले विश्वको ध्यान तानेको छ । गत नोभेम्बरदेखि निरन्तर भइरहेको किसान आन्दोलनमाथि निरन्तर प्रहरि दमन भएपछि यसले विश्वको ध्यान तानेको हो ।
यसैक्रममा अमेरिकी सेलिब्रेटी रिहाना तथा वातावरण संरक्षण अभियन्ता ग्रेटा थनबर्ग, मोडेल मिया खलिफा लगाएतले टुइट मार्फत किसान आन्दोलनको पक्षमा प्रतिक्रिया जनाएका थिए । गायिका रिहानाले बुधबार दिल्लीका आसपासमा भएको किसान आन्दोलनमाथिको दमनसंगै सञ्चार तथा इन्टरनेटको सेवा बन्द गरिएको समाचार शेयर गर्दै हामी यसमा किन नबोल्ने भन्दै टुइट गरेकी थिइन् ।
यी ब्याक्तिहरुको टुइट पछि भारतमा विभिन्न प्रतिक्रियाहरु आएका छन् । कतिपय भारतीयहरुले यसरी सेलिब्रेटीहरुको प्रतिक्रिया आउनुलाई लोकप्रीयताका लागि भएको प्रोपागान्डा भनेका छन् भने कतिपयले किसानका पक्षमा बोलेको भन्दै धन्यवाद पनि दिएका छन् । यसैक्रममा भारतीय विदेश मन्त्रालयले किसान आन्दोलन भारतको आन्तरिक मामिला भएको र यसबारे तथ्यमा आधारित भएरमात्र बोल्न विदेशी सेलिब्रेटीहरुलाई आग्रह गरेको थियो ।
यसको लगत्तै भारतीय क्रिकेटरहरुले पनि भारत सरकारकै समर्थनमा प्रतिक्रिया दिएका छन् । उनीहरुमध्य केहीले किसानहरु’ भनेर उल्लेख गरेका छन् भने अधिकांशले किसानको नाम पनि नलिइ प्रतिक्रिया जनाएका छन् ।
कसले के भने ?
सचिन तेन्दुलकर — भारतको सार्वभौमसत्ताका बारेमा कुनै सम्झौता हुन सक्दैन । बाह्य शक्तिहरु रमिते हुन सक्लान् तर सहभागी हुन सक्दैनन् । भारतलाई भारतीयहरुले चिन्दछन् र निर्णयपनि भारतीयहरुले लिन पर्दछ । भारत राष्ट्रका लागि एक होऔं ।
रवी शास्त्री — भारतको अर्थब्यवस्थाको एउटा महत्वपूर्ण साधन हो । हरेक देशको पारिस्थितीक प्रणलीका आधार भनेको किसानहरु हुन् । यो आन्तरिक मामिला हो र म ढुक्क छु कि यसको हल वार्ताका माध्यमबाट हुनेछ । जय हिन्द ।
शिखर धवन — अहिलेका लागि हाम्रो महान राष्ट्रलाई फाइदा पुग्ने समाधानको बाटो खोज्नु निकै महत्वपूर्ण हुन्छ । हामी संगै उभिऔं र सुनौलो भविष्यतिर संगै अगाडि बढौं ।
रुद्र प्रताप सिँह — भारतसंग सबै विषयहरुमा फरक विचारहरु आउने पुरानो परम्परा छ । हामी प्रायजसो एक अर्कामा सहमत हुँदैनौ । तर हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कसैलाई हामी मन पराउँदैनौ । किनकी हामी त्यस्तो कहिल्यै गर्दैनौं ।
सुरेश रैना — हामीसंग आज सुल्झाउनका लागि समस्याहरु छन् र त्यो भोली पनि हुनेछ । तर यसको मतलब यो होइन कि हामी बाह्य शक्किा कारण विभाजित हुन्छौं । दृढ तथा पूर्वाग्रहरहित वार्ताका माध्यमबाट हरेक चिजको समाधान खोज्न सकिन्छ ।
अनिल कुम्ब्ले — विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मूलुकका नाताले भारत आफ्नो जस्तोसुकै आन्तरिक मामिलालाई पनि निश्चिन समाधान दिन सक्ने क्षमता राख्छ ।
विराट कोहली — असहमतीको यस घडिमा सबै एक होऔं । किसानहरु हाम्रो देशका अभिन्न अंग हुन् र म ढुक्क छु कि सबै पक्षहरुबीच सौहार्दपूर्ण रुपमा सहमति हुन्छ र हामी शान्तिपूर्ण रुपमा अगाडि बढ्छौं ।
उनीहरुले अनलाइन ह्याज ट्याग ‘इन्डिया अगेन्स्ट प्रोपागान्डा’ को प्रयोग गर्दै टुइटर मार्फत आफ्ना प्रतिक्रियाहरु दिएका हुन् । यसले किसान आन्दोलनमाथि भएको राज्यको दमनलाई लुकाउन मद्दत पुग्ने देखिएको छ । क्रिकेटरहरुको पनि सरकारकै लाइनबाट प्रतिक्रिया आउनुले किसान आन्दोलन प्रति सरकारलाई कम जवाफदेही तथा अनुत्तरदायी बन्न मद्दत पुग्ने देखिन्छ ।