नेपिदअ । म्यानमारमा सैन्य कदमको विरोधमा मुख्य शहर याङ्गोनलगाएत क्षेत्रमा दशक यताकै ठूला विरोध प्रदर्शनहरु भएका छन् । सैन्य कू को विरोध गर्न लगातार तेस्रो दिन दशौँ हजार मानिसहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । मुख्य शहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनमा हालसम्म हिंसात्मक घटना भने नभएको बताइएको छ ।
गत जनवरी १ मा म्यानमारको सेनाले आङ साङ सुकी लगाएतका निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिई संकटकाल घोषणा गरेको थियो । गत नोभेम्बरमा भएको आम निर्वाचनमा ब्यापक धाँदली भएको आधारहीन दाबी गर्दै सेनाले एक वर्षको लागि शासन सत्ता आफ्नो हातमा लिएको थियो ।
उक्त कदमको विश्वब्यापी रुपमा विरोध भएपनि ११ सदस्यीय शासक परिषद् गठन गरेको सेनाले हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन।