काठमाडाैं । संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले गरेकाे विराेध सभामा नेतृ रामकुमारी झाँक्रीले सर्वसत्तावाद र संविधान र कानुनी राज्यको विरुद्धमा सेटिङ मिलाउनेहरु विरुद्ध बोल्न पाइने बताएकी छिन् ।
केही दिन अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले त्यतिबेला राष्ट्रपतिलाई बालकोट जान भनेकी थिइन् । त्यसपछि उनको आलोचना भएकाे थियो । उनीमाथि प्रहरी कारवाहीको समेत माग गरिएको थियो ।
‘संस्थाको कुनै लिंग हुँदैन, त्यो सार्वजनिक हुन्छ ।’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’
सुरुवातमा कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् ।
त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन् । माक्स फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो ।
उनले टेप निकालेर भनिन् ‘बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौँ ।’