काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीको पाप कसैले पनि धोइपखाली गर्न नसक्ने बताएका छन् । उनले ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिनाथ जपिराखेको आरोप पनि लगाएका छन् ।
‘केपी ओली तपाइँले मदन भण्डारीको नाम जप्न बिर्सिसक्नु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नु भएको छ,’ उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् चेतना भया । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ । उनको पाप कसैले पनि पखाल्न सक्दैन ।’
आफ्नो समूहले काठमाडौंमा गरेको भेला सम्बोधनका क्रममा ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको उनले आरोप पनि लगाएका छन् ।
ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी उनको थियो । ओली तर्क नभई धम्कीतर्फ लागिरहेको पनि उनले बताएका छन् । जनमतमा विश्वास गर्ने भए ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने उनको तर्क छ ।