नयाँ दिल्ली । भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार सो घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने आकलन गरिएको बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।
‘घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ’, उनले भने ।
कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।
घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतक परिवारलाई दुई लाख रुपैयाका दरले राहात प्रदान गर्ने घोषणा गरेका छन् ।