काठमाडौं। संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले विश्वमा कोरोनाविरुद्ध खोप वितरण असमान भइरहेको भन्दै कडा आलोचना गरेका छन् ।
उनका अनुसार कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जामा छन् । उनले भनेका छन्, ‘यो अन्यायपूर्ण हो ।’ तर ती देश कुन कुन हुन भन्ने उनले सम्बोधन क्रममा खुलाएनन् ।
बुधबार राष्ट्र संघको सुरक्षा परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गुटरेसले १३० देश अझै कोरोना खोपको पहुँचबाट बाहिर रहेको जानकारी दिए । उनले भने, ‘यो कठिन घडीमा खोप वितरणका विषयमा विश्व समुदायको नैतिक परीक्षा हो ।’
आपतकालीन खोप अभियान योजनाबद्ध ढंगले मिलेर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । यसअन्तर्गत खोप वितरण सुनिश्चित गरिनुपर्ने उनले बताए । उनले भने, ‘जी–२० मा आबद्ध ठूलो अर्थतन्त्र भएका देशले इमरजेन्सी टास्क फोर्स गठन गर्न आवश्यक छ र यसमा कोरोना खोप उत्पादनकर्ता कम्पनीलाई पनि सामेल गर्नुपर्छ ।’ उनले अगाडि भने, ‘विश्वका सात ठूला औद्योगिक मुलुकले यसका लागि रकम जुटाउन जरुरी छ ।’ एजेन्सी