काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटक-पटक निर्वाचन हुने बताएका छन् । ‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्’, उनले भने, ‘लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।’ एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे ।
निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताए । उनले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिए । ‘जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गरे। लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पारे ।