एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उसको ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबोटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ । भिडियोमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।
‘पर्सिभिअरन्स रोभर’ ले मङ्गल ग्रहको सतहमा फेब्रुअरी १८ तारिकका दिन सफल अवतरण गरेको थियो । ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो ।
नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो । एक हजार किलोग्राम तौल भएको उच्च प्रविधियुक्त रोबोटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ ।