काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमभित्र केही त्यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । प्रदीपकुमार यादव तीनै कर्मशील व्यक्तिमध्येका एक हुन् । हाल आयल निगम अन्तर्गत वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख रहेका यादवले निगमले लिएका दूरगामी महत्वका योजनालाई सफल पार्दै गए । अहिले पनि निगम सुधारमा उनको योगदान उत्तिकै छ ।
पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट तेल ओसारपसार गर्नुपर्थ्यो । अहिले नेपाली सीमा नाकाभन्दा ३६ किलोमिटर वरबाटै त्यस्ता ट्यांकरहरुको लोड अनलोड गर्न सक्छन् । राष्ट्रिय रुपमै महत्वपूर्ण मानिएको यो परियोजनामा स्थलगत रुपमा प्रत्यक्ष नेतृत्व गर्ने व्यक्ति उनै यादव हुन् ।
अहिले पाइपलाइनबाट तेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट राज्यले अर्बौं रुपैयाँ बचत समेत गरिसकेको छ । राज्यले अर्बौं बचत मात्रै गरेको छैन, जनताले समेत इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ सस्तो पाएका छन् । पाइपलाइन परियोजना सम्झिँदै यादव भन्छन्, ‘पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।’
देशकै सबैभन्दा ठूलो अमलेखगञ्ज डिपोको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकोले त्यसलाई विशेष ध्यान दिनुपर्थ्यो ।
पाइपलाइन परियोजना पूरा भएपछि यादव अहिले वाग्मती प्रदेश कार्यालयको प्रमुख छन् । यहाँ आएको उनी १ वर्ष हुन लाग्यो । तर, छोटो अवधिमै उनले डिपोको मुहार फेरिदिएका छन् । मिहिनेतीलाई अवसरको कमी हुन्न भन्ने उनले यहाँ पनि प्रमाणित गरेर देखाएका छन् ।
थानकोट डिपोमा सुधारको काम
यादवलाई निगमले अघिल्लो चैत ७ गते थानकोट डिपोको प्रमुख भएर पठाएको हो । यहाँ समस्या पार्किङको मात्रै थिएन । लोड अनलोडको पनि थियो । यादव भन्छन्, ‘अति प्रज्वलनशील पदार्थ भएकोले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले सकेसम्म ३ बजेभित्रै ट्यांकर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । तर, त्यतिबेला ६ बजेसम्म पनि ट्यांकर छुटन नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पर्थ्यो ।’
आएको दोस्रो दिनदेखि नै सुधारको कामलाई अघि बढाए । अहिले यी सबैजसो समस्या समाधान भइसकेका छन् । केही कामहरु अघि बढिरहेका छन्, त्यो सकिनेबित्तिकै यहाँको सुधारको काम एक हदले पूरा हुन्छ ।
खासगरी, यहाँ सबैभन्दा ठूलो समस्या रहेको पार्किङलाई व्यवस्थित गरिएको छ । निगमको स्वामित्वमा डिपोकै तल्लोपट्टि रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर ३ सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित ट्वाइलेट बाथरुमको व्यवस्था गरिएको छ । यसले गर्दा अव्यवस्थित पार्किङको समस्या हल भएको छ ।
तेलको आपूर्तिमा भइरहको ढिलाई अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर पुर्याइएको डिपो प्रमुख यादवले बताए । पहिले २ वटा पेट्रोल र २ वटा डिजेल प्वाइन्ट रहेकोमा अहिले २ वटा पेट्रोल र ६ वटा डिजेल प्वाइन्ट रहेको उनको भनाई छ । यादवले भने, ‘अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिइसक्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । राती हुँदैन ।’ भुकम्पपछि क्षतिग्रस्त रहेको एउटा भर्टिकल ट्यांकीको मर्मत पनि भएको छ ।
सुरक्षा थ्रेटको सम्भावनालाई घटाउन यो अवधिमा सो डिपोलाई घेर्ने पक्की पर्खाल बनाइएको छ । यो पर्खाल ३ सय ७० मिटर लम्बाई र ११ फिट अग्लो रहेको उनले बताए । सो पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । उता डिपोको सुरक्षामा खटिने सेनाको आवासका लागि पनि निगमले छुट्टै क्वार्टर बनाउँदैछ । यो बनेपछि बाह्य सुरक्षा जोखिम समेत धेरै हदसम्म कम हुने यादवको विश्वास छ ।
त्यस्तै गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ । डिपोको गेटनजिक रहेको सार्वजनक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ ।
कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादवले दाबी गरे । संरचना अभावकै कारण पहिले डिपोका अफिसरहरु एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था थियो । अहिले सबैका लागि सहज रुपमा काम गर्नेगरी संरचना बनाइएको छ । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर क्यु—मेसिन राखिएको छ । वरपरको वातावरणलाई स्वच्छ राख्न खाली ठाउँमा दुबो र रुख रोप्ने काम समेत गरिएको उनको भनाई छ ।
कति भयो खर्च ?
यी सबै सुधारको काम हुन ६ करोडदेखि ७ करोड रुपैयाँ हाराहारीमा खर्च भएको बताइएको छ । कार्यालय संरचना निर्माण गर्न, बाउन्डिङ वाल लगाउन, पार्किङको क्षेत्रफल पिच गर्न, आवास तथा शौचालय बनाउन यी रकम खर्च गरिएको थियो ।
आफूहरुले थोरै खर्चमा नै धेरै सुधारका काम गर्न सकेको दाबी गर्दै यादवले आफ्नै साधन र स्रोतको प्रयोग गरेकोले यो सम्भव भएको बताए ।