काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो ।
यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ । यस्तै एक करोड ५७ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ ।
गत साताको अन्तिम दिन बिहीबार ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको छ ।बजारमा पहिरो गएको दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ । यो बाहेक अन्य सबै समूह राताम्मे बनेका छन् ।
जसमध्ये सबैभन्दा बढी जीवन बीमा छ सय १५, उत्पादनमूलक एक सय ९४, निर्जीवन बीमा एक सय ७९ अंकले घटेका छन् ।बजार घटे पनि आज चन्द्रगिरि हिल्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर चार सय १४ रूपैयाँ प्रतिकित्ता पुगेको छ ।