काठमाडौं । पुन:स्थापित संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने भएका छन् ।
फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । शीर्ष तहमा धारणा तय गरेर संसदीय दल र केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी कांग्रेसको छ ।
सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ । संसद बैठकमा कांग्रेस प्रधानमन्त्री ओलीको साथमा उभिन्छ कि प्रचण्ड-माधव पक्षमा भन्नेमा चासो छ ।