काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष यही शनिबार संसदीय दलको बैठक बोलाएको छ।
बैठकमा नेकपाको अर्को समूह पुष्पकमल दाहाल–माधवकुमार नेपालसहितका सबै सांसदलाई समेत बोलाइएको छ । संसदीय दलको बैठक शनिबार दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बस्ने ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
संघीय संसदमा नेकपाका १७४ सांसद छन्। त्यसमध्ये एक सांसदको निधन भएको छ भने र अग्नि सापकोटा सभामुख छन् । भट्टराईका अनुसार पार्टी अझै नफुटेको भन्दै सबैलाई बैठकमा आमन्त्रित गरिएको हो ।
प्रचण्ड–माधव पक्षले भने संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई यसअघि नै संसदीय दलबाट र उनीहरुसहित अन्य ७ नेतालाई पार्टीबाटै निष्कासन गरिसकेको छ । उनीहरुमाथि कारवाही गरिएको पत्र प्रचण्ड–माधव पक्षले बिहीबार नै संघीय संसद सचिवालयमा बुझाएको छ।