काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवबीचको निकट सम्वन्ध आठ- दश वर्ष पुरानो भएको बताएका छन्।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो र विप्लवको सम्बन्ध पुरानो र बलियो भएको बताएका हुन्।
सरकार र विप्लव नेतृत्वको नेकपाबीचको यो ३ बुँदे सहमति रातारात नभएको भन्दै ओलीले यसबारे आफूहरुबीच पहिलेदेखिनै छलफल हुने गरेको बताए।
८- १० वर्ष अगाडी मेरो र विप्लव जी को बीचमा गम्भीर छलफल भएको थियो, ओलीले भने, ‘ त्यसै वार्तादेखि हामी एकअर्काबीचको विश्वास मजबुत हुँदै आएको थियो। र त्यो विश्वास आज यो ठाउँसम्म आइपुगेको छ। ‘
ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताए।