काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।
आफुहरुलाई विपक्षमा बस्ने म्याण्डेट भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उनले बताए । विपक्षी दलको नेता भावि प्रधानमन्त्रीको रुपमा रहने भएपनि आफूलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उनको भनाइ छ । उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेट विपक्षमा बस्ने म्याण्डेट भन्ने चलन छ नि हाम्रो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच पनि छैन । यस्तोमा लाग्नुपनि छैन मैले ।’
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन । सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्रीको रुपमा हेरिएको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।