काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएपछि आजदेखि सातौँ संसद अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए । यद्यपी, उक्त विवाद अहिले पनि कायमै छ । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।