काठमाडौं। सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको फैसला सुनाएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले फैसला सुनाएको हो।
फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ र नेकपा एमाले र माओवादी केन्द्र पनि ब्यूँतिएका छन्।
सर्वोच्चको यो फैसलाबाट ओली समूह उत्साहित भएको छ।
ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सांकेतिक रुपमा सर्वोच्चको फैसलाको स्वागत गर्दै अन्तिम अंशसहित ट्वीट गरेका छन्। जसमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरि नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्यका निर्वाचन आयोगको मिति २०७५ जेठ २३ को निर्णय र सो निर्र्णयलाई सदर गर्नेगरी भएको २०७५ कात्तिक ९ गतेको निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नियमावली २०७४ मा भएको कानुनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिएको छ । निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुनु ।’