काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै संसदमा अब चार वटा दल नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी रहने भएका छन्।
नेकपा नामको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि संसदमा चार वटा दल हुने भएका हुन् ।
प्रतिनिधि सभामा पूर्वएमालेको १ सय २१ सिट रहेको थियो। प्रत्यक्षतर्फ उसले ८० सिट जितेको थियो भने समानुपातिक तर्फ ४१ सिट जितेको थियो। पूर्वएमाले सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसदमा १२० सिट छ। नेपाली कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिट जितेको थियो। कांग्रेसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ गरी ५३ सिट जितेको थियो। जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद छन्। एकीकरण अघि राजपाका १७ र समाजवादी पार्टीका १७ सांसद थिए। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा रहेका छन्।
यस्तोमा एमालेले कांग्रेस वा जसपा कुनै दलसँग मिले पनि बहुमत कायम गर्नसक्छ भने एमालेको बहुमत पुग्न नदिन बाँकी तिन वटै दल कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्छ । निर्वाचनमा थ्रेसहोल्डको मापदण्ड पुरा नगरेकाले संसदीय दल गठन गर्न नपाएका राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १÷१ सांसद छन्। १ जना स्वतन्त्र सांसद छन्।