काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेताहरुबीच भावी रणनीतिका बारेमा छलफल भएको छ । बुधबार पेरिसडाँडामा भएको छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले संवोधन गर्छ उसैलाई सघाउने बताएका छन् ।
सरकार निर्माणका लागि प्रचण्ड नेतृत्वको पार्टी माओवादी केन्दसँग सहकार्य गर्ने नगर्ने भन्ने विषयमा कुनै टुङ्गो भने नलागेको जसपा निकट एक नेताले बताए । जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाई लगाएतका मागहरु अघि सार्दै आएको छ ।
जसपाले पछिल्लो समय विभिन्न नेता तथा पार्टीहरुसँग निरन्तर छलफल गरिरहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि अहिले जसपा सरकार निर्माण प्रकृयामा निर्णायक हुने भएको छ ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले र माओवादी केन्द्र ब्यँताइदिएपछि नयाँ सरकार निर्माणका लागि जसपा निर्णायक हुने भएको हो ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने एमालेको परीक्षा धेरै पटक लिइसकिएको भन्दै ओली सरकारसँग कुनै पनि सहकार्य गर्न नसकिने बताएका छन् ।