काठमाडौं । सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि कार्यदलस्तरको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सरकार र जसपाका शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताइएको थियो ।
सोही छलफलका आधारमा आज थप गृहकार्य गरेर टुंगोमा पुग्ने कर्णले बताए । जसपाले बिहीबारको वार्तामा निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राखेको छ ।
जसपा नेता कर्णका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए ।
बिहीबारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।