काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले संसद सचिवालयमा तीनवटा प्रस्ताव दर्ता गराएकी छिन् ।
पन्तले सरकारको ध्यानाकषर्ण गराउँदै संसद सचिवालयमा पत्र दर्ता गराएकी हुन् । उनले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएका नेपालीबारे छलफल गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी हुन् ।
उनको प्रस्तावमा रोजगारी सिर्जना गर्नुपर्ने, तालिम, सहुलियत ऋण तथा उत्पादनको बजार सुनिश्चित गर्नुपर्नेसहितका माग गर्दै मार्गचित्र बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
कोरोना र महामारीपछि महिला र बालबालिका झन् बढी असुरक्षित रहेको भन्दै संग्रौलाले अर्को पनि ध्यानाकर्षण पत्र दर्ता गराएकी छिन् ।
उनको यो प्रस्तावमा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न र थप संकट आउन नदिन संसदले सरकारलाई मार्गनिर्देश गर्नुपर्ने आवश्यकता रहेको औल्याएको छिन् ।
उनले दर्ता गराएको तेस्रो प्रस्तावमा महिला हिंसा मानवताविरुद्धको अपराध भएको भन्दै सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको मानव अधिकार रहेको उल्लेख गरिएको छ ।