काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक आह्वान गरेका छन् ।
बिहीबार विहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बस्न लागेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार यो नियमित बैठक हो।
बैठकका लागि एमालेले सबै सांसदहरूलाई खबर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहले बोलाएको बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह भने जाने सम्भावना शून्य प्राय छ ।
खनाल-नेपाल समूहको हिजोदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी छ । भेलामा व्यस्त हुनुपर्ने भएकाले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने उक्त समूहका नेता तथा सांसदहरूले बताउँदै आएका छन्।