logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • विरोधी खेमाका सांसदलाई कारवाही गर्न एमाले संसदीय दलको विधान संशोधन गरिने

    विरोधी खेमाका सांसदलाई कारवाही गर्न एमाले संसदीय दलको विधान संशोधन गरिने

    2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले संसदीय दलको नेता केपी शर्मा ओलीले विरोधी खेमाका सांसदलाई कारवाही गर्ने उद्देश्यले संसदीय दलको विधान संशोधनको तयारी अगाडि बढाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदलसमेत गठन गरेको छ ।

    विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल छन् । एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु ओलीप्रति असन्तुष्ट छन् । उनीहरुले ओलीविरुद्ध अविश्वास प्रस्ताव आए ‘फ्लोर क्रस’ गरेरै भए पनि ओलीलाई हटाउन साथ दिने मनस्थिति बनाएका छन् । 

    यस्तोमा ओलीले आकस्मिक रुपमा दलको बैठक डाकी विधान संशोधनको प्रक्रिया अगाडि बढाएका हुन् । आफ्नो विपक्षमा उभिने सांसदलाई कारवाही गर्न सजिलो हुने गरी विधान संशोधन गर्न उनले कार्यदललाई निर्देशनसमेत दिएका छन् ।

    त्यस्तै, बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ । बोर्डमा २७ जना सांसद रहनेछन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो । बैठकमा खनाल–नेपाल समूहका अधिकांश सांसद अनुपस्थित रहे । यो समूहले सुरुमा शीर्ष नेताबाहेकका सांसद बैठकमा सहभागी हुने निर्णय गरेपछि बालुवाटार हिँडेका आफ्ना पक्षका सांसदलाई बाटोबाटै फिर्ता बोलाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend