ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मार्च २६ मा बंगलादेशको भ्रमणमा जाने भएपछि बंगलादेशमा विरोध सुरु भएको छ । तर त्यहाँका विदेश मन्त्री एके अब्दुल मोमेनले शनिबार यस विरोधबाट चिन्तित हुनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
ढाकाका सञ्चारमाध्यामका अनुसार विदेशमन्त्री एके अब्दुलले एक प्रेस सम्मेलनमा एउटा समूहले गरेको विरोध प्रदर्शनले प्रधानमन्त्री मोदी भ्रमणलाई प्रभावित बनाउन नसक्ने र यसकारण चिन्तित हुनु नपर्ने बताएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार शुक्रबार राजधानी ढाकामा मुस्लिम तथा छात्र संगठनले मोदीको भ्रमणको विरोधमा र्याली निकालेका थिए । मोदी बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा भ्रमणका लागि जान लागेका हुन् । २६ मार्च सन् १९७१ मा बंगलादेशले पाकिस्तानबाट अलग्गिएर आफैं स्वतन्त्र भएको घोषणा गरेको थियो । नौ महिनाको रक्तपातपूर्ण युद्धपछि बंगलादेश स्वतन्त्र मुलुक बनेको थियो ।
शुक्रबार करिब पाँच सय मुस्लिमहरुले ढाकाको बैतुल मोकरराम मस्जिद बाहिर सडकमा र्याली निकालेका थिए । र्यालीका क्रममा त्यसक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । र्यालीमा सहभागीसँग कुनै प्लेकार्ड तथा ब्यानर नभए पनि उनीहरुले मोदीको विरुद्धमा नाराबाजी गरेका थिए ।
यसबाहेक, करिब दुई सय विद्यार्थीहरूले ढाका विश्वविद्यालय बाहिर प्रधानमन्त्री मोदीको विरोधमा मार्च गरेका थिए । प्रधानमन्त्री मोदी बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाको आमन्त्रणामा ढाका जाँदैछन् । प्रदर्शनकारीहरूले शेख हसीनाको आलोचना पनि गरिरहेका छन् । बंगलादेशमा सीएए र एनआरसीको बारेमा विरोध प्रदर्शन हुँदै आएको छ । सीएए अर्थात नागरिकता संशोधन ऐनको तर्कमा अमित शाहले बंगलादेशमा हिन्दुहरूको उत्पीडनको कुरा गरेका थिए ।
बंगलादेशले यस सम्बन्धमा कडा आपत्ति जनाएको थियो । बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले भनेका थिए‘ हिन्दुहरूको उत्पीडनको बारेमा उनीहरूले भनेको कुरा अनधिकृत र असत्य हो । बंगलादेश जस्ता सांप्रदायिक सद्भाव रहेका विश्वभरका थोरै देशहरू छन् । यहाँ कुनै अल्पसंख्यक छैनन् । हामी सबै बराबर छौं ।
छिमेकी देशको रूपमा हामी आशावादी छौं कि भारतले हाम्रो त्यस्तो मैत्रीसम्बन्ध बिगार्ने कुनै पनि कुरा गर्ने छैन । यो मुद्दा हालसालै हाम्रो अगाडि आएको छ । हामी यसलाई ध्यानपूर्वक पढ्नेछौं र भारतसँग यो मुद्दा उठाउनेछौं ।’