काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा चार जनाको मृत्यु भएको छ ।
शुक्रबार भएको विरोध प्रदर्शनमा चार जना घाइते भएपछि अस्पताल लगिएकाे थियाे । उनीहरुकाे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे बीबीसी बांग्लाले उल्लेख गरेकाे छ ।
प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।
केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गरिरहेका थिए । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा २ दिने भ्रमणमा शुक्रबार ढाका पुगेका हुन् ।