तस्बिर: एपी
यांगुन । म्यानमारमा सैनिक ‘कू’ विरुद्ध शनिबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौंको मृत्यु भएको छ ।
दर्जनौँ प्रदर्शनकारी मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको शनिवारलाई सबभन्दा बढी हताहत भएको दिनको रुपमा लिइएको छ ।म्यानमारका स्थानीय समाचार वेबसाइटहरूलाई उद्धृत गर्दै शनिबारको प्रदर्शनको क्रममा ११४ जनाको निधन भइसकेको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले कैयौँ मानिसहरू मारिएको र सयौँ घाइते भएको विवरण प्राप्त गरेको जनाएको छ। गत फेब्रुअरी महिनामा सैन्य कू भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ।
आङ सान सु चीको दल न्याशनल लीग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ। सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख गरेका छैनन् ।