इजिप्टको सूइज नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्ग हो । मेडिटेरेनियन समुद्र र रेड समुद्र सँग जोडिएको सूइज नहर संसारकै व्यस्त व्यापारिक जलमार्ग हो ।
अहिले एभर गिभन पानीजहाजका कारण सूइज नहर अवरुद्ध अवस्थामा छ । ४ फुटबल मैदान भन्दा ठुलो मालबाहक पानी जाहाज सुइज नहरमा अड्किए सँगै अवरुद्ध भएको हो । अहिले अरु थुप्रै जहाजहरु जाममा फसेका छन् । यसलाई विश्वको सबैभन्दा महंगो ट्राफिक जाम भनिएको छ ।
उद्धारकर्ताहरुले आठ ओटा डुंगा लिएर यस जहाजलाई पन्छाउन लागि परेका छन् तर उच्च हावाका कारण असहज भएको बताइएको छ । ४०० मिटर लामो जहाज छड्के परेपछि भएको जामले विश्वमा विभिन्न सामानको मंहगी बढ्ने संकेत देखिएको छ ।
इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलिदिएको छ। यो अवरोधले गर्दा तेलको मूल्यवृद्धि समेत भएको बताइएको छ। इजिप्टको स्वामित्वमा भएको १९३ किलोमिटर लामो जलमार्गमा भएको जाहाजका कारण विश्वभरिका उपभोक्ताहरु प्रत्यक्ष या अप्रत्यक्ष समस्यामा पर्ने आँकलन समेत गरिएको छ ।