वासिङ्टन । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी पोइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ । स्थानीय बासिन्दालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनमा तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान भनिएको छ ।
३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको उक्त पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको बताइएको छ । ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका विश्वास गरिएको छ । रासस