इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १८० भन्दा बढी पुगेको छ । जाकार्ताका सरकारी अधिकारीहरुले जनाए अनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए ।
यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनार अवस्थित भवनहरू बगाएको बताइएको छ। गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो ।