ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।
सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ ।
।
ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरस विरुद्ध खोप अभियान सुरु भएको छ । तर सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन । देशभरी अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ । ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।