काठमाडाैं । भारतमा कोरोना महामारीले भयानक रुप लिएपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेकाे छ ।
भारतमा स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेकाले बुधबार चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको हो । चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ । ‘अमेरिकी नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आग्रह गरिन्छ,’ अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा उल्लेख गरिएकाे छ ।
भारतमा विगत केही केही साता यता कोरोना संक्रमण तीव्र गतिमा बढी रहेको छ । महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ । विदेश मन्त्रालयले भारतका केही सहरहरुमा अमेरिकी नागरिकहरुले समेत अस्पतालमा भर्ना नपाएको जनाएको छ ।