काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ ।
एमालेका एक नेताका अनुसार आजको बैठकले माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने निर्णय गर्न सकिने बताइएको छ ।
पार्टीलाई फुटबाट जोगाउनका लागि एमालेका दुवै पक्षका नेताहरुको सक्रियता बढेको छ। पछिल्लो समय नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । यद्यपी संवादले कुनै ठोस निर्णय भने दिन सकेको छैन ।
सहमतिको प्रयासमा विहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् ।
एमाले विवाद सल्ट्याउनका लागि अहिले दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले बुधवार र विहीवार माधव नेपाल पक्षका नेताहरुसँग छलफल गरेका थिए । बिष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि संवाद प्रयास गरिरहेका छन् ।
त्यस्तै एमाले विवाद मिलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छिन् । राष्ट्रपति भण्डारीले विहीबार नेता नेपाल र प्रधानमन्त्री अोलीसँग छुट्टा छुट्टै वार्ता गरेकी थिइन् । त्यतिमात्र होइन नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति भण्डारीले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार मध्यरातिसम्म छलफल गरेकी छन् । एमाले स्रोतका अुनसार निर्णायक भनिएको छलफल राति १२ बजेसम्म चलेको थियो ।