पोखरा । गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न अश्वीकार गरेपछि गठबन्धन सरकार बनाउने विपक्षीको प्रयास लगभग समाप्त भएको हो।
जनमोर्चा संसदीय दलका नेतासमेत रहेका थापाले कांग्रेस नेतृत्वको सरकारलाई सघाउन नसकिने घोषणा गरेका हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेका बेला सांसद थापाले नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताए ।
वैशाख २६ गते गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनकाे समय दिएकी थिइन्। उक्त समय आज सकिँदै छ। अन्तिम समयसम्म पनि जनमोर्चाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले गुरुङलाई विस्थापित गरि नयाँ सरकार गठन गर्न नसक्ने भएको हो ।