logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गठबन्धन सरकारकाे लागि कांग्रेसकाे प्रयास जारी, सफल नभए पुन: प्रधानमन्त्री ओली !

    गठबन्धन सरकारकाे लागि कांग्रेसकाे प्रयास जारी, सफल नभए पुन: प्रधानमन्त्री ओली !

    3K
    Shares

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारकाे आह्वान गरी दिएको समयसीमा बिहीबार सकिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे २७ गते संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार गठनको आह्वान गरेकी थिइन् ।

    गएकाे सोमबार राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूसँग आह्वान गरेकी हुन् । समयसीमा नजिक आइपुग्दा समेत विपक्षी दलहरुले गठबन्धन गर्न सकेका छैनन् । ठाेस निर्णयमा नपुग्दा नयाँ सरकार गठनमा विभिन्न शंका उपशंका हुन थालेकाे छ ।

    यतिबेला कांग्रेस सरकार गठनमा लागेकाे छ तर उसले पनि संसदमा तत्काल कायम रहेकाे बहुमत संख्या पुर्‍याउन सकेकाे छैन । प्रतिनिधिसभामा अहिले २७१ सदस्य रहेका छन् । बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ । यसअघि भएको विश्वासको मतको मतदान अनुसार प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खसेकाे थियाे । विपक्षमा १२४ मत प्राप्त हुँदा तटस्थ १५ मत रह्यो । एमालेका खनाल-नेपाल पक्षका २८ सांसद अनुपस्थित भए ।

    याे अंकगणित हेर्दा नयाँ गठबन्धनका लागि जसपाको महन्थ ठाकुर समूह निर्णयक छ । तर याे समूहकाे कुनै पनि समूहमा नलाग्ने अडान छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष गठबन्धनकाे प्रयासमा छ तर यसका लागि अन्य १२ सांसद आवश्यक पर्छ नत्र यसले पूर्णता पाउँदैन ।

    नेकपा एमालेकै खनाल-नेपाल समूह पनि ओलीसँग रुष्ट छ । जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि याे समूह राजीनामा दिएरै भए पनि कांग्रेकाे सरकार चाहान्छ । तर अहिलेसम्म याे पार्टीकाे पनि ठाेस निर्णय भने आइसकेकाे छैन ।

    प्रतिनिधि सभामा जसपाका ३२ सांसद छन् । अध्यक्ष महन्थ ठाकुर तथा बाबुराम भट्टराई र उपेन्द्र यादवको पक्षमा सांसद पनि विभाजित छन् । गएकाे २७ गते विश्वासकाे मत दिने बेलामा १५ सांसद तटस्थ बसेका थिए । उनीहरू ठाकुर पक्षका हुन् । तीन सांसद अनुपस्थित बताइएकाे थियाे । यादव र भट्टराई पक्षका १४ सांसदले मात्र वैशाख २७ मा ओलीविरुद्ध मत दिएका थिए ।

    जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई बुधवार नयाँ प्रस्ताव गरे । उनकाे प्रस्ताव अनुसार पूर्वप्रधानमन्त्री बाहेकका अन्य नेता छानेर नयाँ सरकार गठन गर्ने रहेकाे छ । उनकाे याे प्रस्तावले कांग्रेसमा झन् अन्याेलता थपेकाे छ ।

    एकालेकै खनाल-नेपाल समूहका नेताहरु पनि अहिलेसम्म ठाेस निर्णयमा पुग्न सकेका छैनन् । गएकाे २७ गते अघि नै राजीनामा दिने भने पनि राजीनामाबाट पछि हटेर बैठक बहिस्कार गरेका थिए । कांग्रेसकाे आशा याे पक्षसँग पनि रहेकाे छ । याे पक्षसँग मिलेर सरकार गठन गर्न राजीनामा दिएपछि उपनिर्वाचन जिताउनेसम्मको ‘अफर’ गरिसकेकाे छ । तर केही नेताहरुकाे प्रतिक्रिया बुझ्दा भने उनीहरुकाे राजीनामाकाे सम्भावना कम देखिएकाे छ ।

    याे गठबन्धन बन्न नसकेमा ओली नै संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नेछन् । एकढिक्का हुँदा एमाले १२१ सदस्यीय छ ।

    ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा चयन भए पनि ओलीले फेरि पनि विश्वासको मत पाउने अवस्था भने अहिलेसम्म देखिएकाे छैन । विश्वासको मत नपाएमा उनी पुनः पदमुक्त हुनेछन् । संवैधानिक व्यवस्था अनुसार धारा ७६(५) अनुसार पुनः बहुमत जुटाउन सक्ने व्यक्ति प्रधानमन्त्री नियुक्त हुनसक्छ । तर, तत्कालको अंक गणितमा यस्तो अवस्था करिब सम्भव छैन ।

    एकल सदस्यले पनि प्रधानमन्त्री चयन हुन सक्ने अवस्था नभएमा ओलीले नै प्रतिनिधिसभा पुनः विघटन गरेर चुनावको मिति घोषणा गर्नेछन् । ओलीले पुस ५ को कदम सही सावित भएको बताउन सक्ने सम्भावना पनि प्रशस्त देखिन्छ ।

    ओलीको यो कदममा जसपाको ठाकुर पक्षले पनि साथ दिएको छ । यस्तै, सदनमा एक/एक सिट रहेका राप्रपा र नेमकिपा अप्रत्यक्ष रुपमा नै ओलीलाई साथ दिइरहेका छन् ।

    संसदमा विश्वासकाे मत ओलीले मागिरहेका बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यस्तै खालकाे रणनीति ओलीकाे भएकाे आशंका व्यक्त गरेका थिए ।

    यतिबेला प्रधानमन्त्री ओली खनाल-नेपाल पक्षलाई राजीनामाबाट राेक्नका लागि हरसम्भव प्रयासरत देखिन्छन् । उनले गएकाे २७ गते संसदमा अनुपस्थित भएका सांसदहरुलाई केही कारबाही नगर्ने रणनीति पनि अपनाइसकेका छन् ।

    प्रधानमन्त्री ओलीले बिहीबार बिहान पुन: सत्तामा फर्किने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन् । बिहीबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

    ओलीलाई जसरी भए पनि प्रधानमन्त्रीबाट हटाउन सक्रिय रहेका नेता नेपाल सहितको टिमले राजीनामा दिनसक्ने र त्यसले ओलीको योजनामा तुसारापात हुनसक्ने भएपछि स्थायी कमिटी बैठकले निलम्बन फुकुवा गरेको हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend