काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली फुटबलसँग भर्खर घुलमिल हुँदै थिए ।
कुवेतका नागरिक अब्दुल्लाहलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको विश्वकप छनोट र साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा गत चैत १८ गते अनुबन्ध गरेको थियो । एन्फाले प्रशिक्षक अब्दुल्लाहको खर्च कतार फुटबल संघबाट अनुदान सहयोग पाएको थियो ।
फिफा विश्वकप २०२२ एसियाली छनोट अन्तर्गत नेपालले समूहका बाँकी तीन खेल र इराकसँग एक मैत्रीपूर्ण खेल उनै अब्दुल्लाहको प्रशिक्षणमा खेलिसकेको छ । यद्यपी नेपालले छनोट चरण पार गर्न सकेन । अब्दुल्लाहले अहिले आसन्न साफ च्याम्पियनसिपलाई लक्षित गरि खेलाडीको प्रशिक्षण र तयारी गर्दै आएका थिए । उनी नेपाली टोलीमा प्रो–लाइसेन्स प्राप्त पहिलो प्रशिक्षक पनि हुन् ।
साफ च्याम्पियनसिप जित्ने लक्ष्यका साथ टोलीमा युवा खेलाडी समावेश गरेर तयारी गराई रहेका अब्दुल्लाहमाथि पछिल्लो समय एन्फा भित्रैका केही पदाधिकारीबाट असहयोग भएको थियो । एन्फामा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रथम उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहबीचको चरम गुटबन्धीले समेत अब्दुल्लाहलाई पिरोलेको थियो ।
शेर्पापक्ष, खेलाडीलगायतको साथ अब्दुल्लाहलाई थियो । उनको नेतृत्वमा नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेपछि अब्दुल्लाहले चौतर्फी प्रशंसा पनि पाएका थिए । एन्फा अध्यक्ष शेर्पा पक्षले अब्दुल्लाहको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्राचार गरिरहेकै अवस्थामा उनले एक्कासी राजीनाको घोषणा गरेका हुन् ।
तर, उपाध्यक्ष नेम्वाङ समूह अब्दुल्लाहसँग असन्तुष्ट देखिएका थिए । अब्दुल्लाह स्वयं आफूले राजीनामा दिनुको कारण प्रथम उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्चालमा अब्दुल्लाहले लेखेका छन्,’ पछिल्लो तीनसाता देखि उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको ब्यवहारले मलाई समस्या उत्पन्न गराएको थियो । अब मेरो राजीनामाबाट नेम्वाङ खुशी भए होला ।’
दुई दिन अघिमात्र प्रशिक्षकको सम्झौता थप्ने लगायत विषयमा आफूलाई जानकारी नभएको भन्दै नेम्वाङ समूहमै रहेका एक–अर्का उपाध्यक्ष एवं एन्फा प्राविधिक समितिका संयोजक कृष्णबहादुर थापाले प्राविधिक समितिबाट राजीनामा दिएका थिए ।
याे पनि पढ्नुहाेस् ।
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा