एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ । निसान स्टेडियममा शनिबार बेलुका भएको फाइनलमा ब्राजिलले चर्चित प्रतिद्वन्द्वी स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको खेलमा ब्राजिलले १०८ औं मिनेटमा पुगेर निर्णायक गोल गरेको थियो । ब्राजिललाई जिताउन म्याथुयस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयर्जाबलको गोल सान्त्वना गोलमा परिणत भयो ।
३८औं मिनेटमा पेनाल्टी मिस गरेको ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा खाता खोलेको थियो । ब्राजिलका रिचार्लीसनको पेनाल्टी प्रहार बाहिरिएको थियो। इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिलको उत्साह बढाएका थिए । तर, ६१औं मिनेटमा स्पेनका ओयर्जाबलले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि अतिरिक्त समयको १०८औं मिनेटमा माल्कोमले निर्णायक गोल गर्दै ब्राजिललाई स्वर्ण चुमाएका थिए । ओलम्पिक फुटबलमा ब्राजिलको यो लगातार दोस्रो स्वर्ण हो ।
ब्राजिलले घरेलु मैदानमा आयोजित अघिल्लने संस्करणमा पनि स्वर्ण जितेको थियो । यसअघि ब्राजिलले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण तथा सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक चुमेको थियो ।