एजेन्सी । विश्व चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीका लागि अर्जेन्टिना भन्दा स्पेन रोजाइको घर थियो । बाल्यकाल देखि स्पेनको बार्सिलोना एकेडेमीबाट फुटबल जीवन सुरु गरेका उनले कहिल्यै सोचेका पनि थिएनन्, बार्सिलोना छाड्ने कुरा । तर जीवनमा कहिलेकाँही नसोचेको कुरा भइदिन्छ । मेस्सीलाई पनि त्यस्तै भयो ।
कोभिड–१९ को संक्रमण पछि धरासायी बनेको बार्सिलोनाको आर्थिक पक्षले मेस्सीलाई बार्सिलोना छाड्न बाध्य बनायो । मेस्सीलाई आर्थिक भार थेग्न नसक्ने कारण देखाउँदै बार्सिलोनाले उनको सम्झौता लम्ब्याउन इन्कार गरेपछि मेस्सीको जीवनमा नसोचेको आइलाग्यो । उनी बार्सिलोना छाड्न बाध्य भए ।
त्यसैले मेस्सीले आइतबार बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलन गरेर आफ्नो कुरा सारा सर्मथकलाई सुनाउन चाहे । बासिलोनाले आइतबार नै मेस्सीको विदाई गरेको हो । बार्सिलाेनाको समाहलमा उपस्थित हुँदा नै उनको आँखा रसाएका थिए ।
गहभरी आँसु बोकेका मेस्सीले पत्रकार सम्मेलनमा धुरुधुरु रुदै आफूले क्लब छाड्ने कल्पना कहिल्यै नगरेको पनि बताए । ‘म र मेरो परिवार यही बस्न तयार भएका थियौं । क्लबलाई म माया गर्थे,’ मेस्सीले रुदै भने ।
उनले आफुले यो पलको आशा नगरेको पनि बताए । ‘तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ । २१ वर्ष क्लबमा रहँदा मैले धेरै कुरा पाएको छु । म आफ्ना सबै समकक्षी, सर्मथक र शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु । सत्य यो हो कि अब म बार्सिलोना छाडेर जाँदैछु,’ मेस्सीले भने ।
पत्रकार सम्मेलनमा मेस्सीलाई अन्य गन्तब्यको बारेमा प्रश्न गर्दा उनले आफूलाई धेरै क्लबबाट जिज्ञासा आएको र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गन्तब्य हुन सक्ने पनि बताए ।
मेस्सीलाई बार्सिलोनाले सम्झौता गर्न नसक्ने जनाएको २४ घण्टा नबित्दै पीएसजीले मेस्सीसँग अनुबन्धको नजिक पुगेको विषय सार्वजनिक गरेको थियो । शनिबार मात्र पीएसजीका मालिक एवं कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजीमा आउने पक्का भएको घोषणा गरेका थिए । थानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मेस्सी र पीएसजीबीच औपचारिक सहमति भईसकेको र अनुबन्धको घोषणा केही समयपछि गरिने सार्वजनिक गरेका थिए ।
सर्वाधिक ६ पटकका बालोन डी’ओर विजेता मेस्सीको बार्सिलोनासँगको सम्झौता गत जुलाईबाट सकिएको थियो । बार्सिलोनाकै एकेडीमा हुर्किएका मेस्सीले ब्यवसायिक सम्पूर्ण जीवन बार्सिलोनामै बिताए । उनले सन् २००३ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका थिए ।
मेस्सीको प्रेरणमा बार्सिलोनाले १० स्पेनिस ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, ६ स्पेनिस कप जितेको छ । मेस्सी ला लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी पनि हुन् । उनले बार्सिलोनाका लागि उनले सातसय ६७ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् ।