एजेन्सी । इन्जुरी समयमा बुराक यिल्माजले गोल गरेपछि फ्रेन्च लिग वानको बलियो टोली लिले हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा लिलेले मेट्जसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । १० खेलाडीमा समेटिएको मेट्जविरुद्ध लिलेले इन्जुरी समयमा गोल गर्दै हार टारेको थियो ।
मेट्जको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा मेट्जका लागि फावियन सेन्टोन्जीले ३१औं र ५२औं मिनेटमा दुई गोल गरे । म्याथिउ युडोलले ४१औं मिनेटमा गोल गरेका थिए । लिलेका स्भेन बोटमनले २३औं, जोनाथनले ८१औं र बुराक यिल्माजले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
मेट्ज ५६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । किकि कोउयाटे सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक बनाएका छन् । अन्य खेलमा मार्सेलीले मोन्टपिलरलाई ३–२ गोलले हराएको छ ।
एन्जर्सले स्टार्सवर्ग तथा क्लेरमोन्ट फुटले बोर्डेअक्सलाई समान २–० गोलले हरायो । रेनेस र लेन्स तथा लोरियन्ट र सेन्ट इटिनेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन । निस र रेइम्सले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।