एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली आर्सनललाई पहिलो खेलमै ब्रेन्टफोर्डको नमिठो झट्का लागेको छ ।
शनिबार राति देखि सुरु भएको सिजनको पहिलो खेलमा आर्सनल प्रिमियर लिगको नवप्रवेशी टोली ब्रेन्टफोर्डससँग उसैको मैदानमा २–० गोलले पराजित भयो । ब्रेन्टफोर्डसलाई जिताउन सर्जी कानोस र क्रिस्टियन नोयरगार्डले गोल गरे ।
सर्जीले २२औं मिनेटमा इथन पिन्नोकको पासमा खाता खोलेका थिए । ७३औं मिनेटमा क्रिस्टियनले हेड गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । अनुभवी आर्सनलविरुद्ध ब्रेन्टफोर्डले एकपक्षीय प्रदर्शन गरेको थियो ।
खेलभर ब्रेन्टफोर्डको दबाब झेलेको आर्सनलले गोल गर्न लायक अवसर बनाउन सकेन । डेब्यू लिगको पहिलो जितसँगै ब्रेन्टफेर्डले तीन अंक बनाएको छ । आर्सनलले हारबाट सिजनको सुरुवात गरेको छ ।