एजेन्सी/लन्डन । साविक विजेता म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको पहिलो खेलमै टोट्टनहामको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा टोट्टनहामले सिटीलाई १–० गोलले हरायो ।
घरेलु मैदानमा टोट्टनहामलाई जिताउन दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन नायक बने । सनले ५५औं मिनेटमा स्टिभन बर्गवाइनको पासमा गोल गरेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सिटीको प्रयासमा टोट्टनहामको डिफेन्स लाइन बाधक बनेको थियो । टोट्टनहामको गोलपछि दबाबमा देखिएको सिटी अन्ततः गोलरहित हार खेप्न बाध्य बन्यो । जितसँगै टोट्टनहामले तीन अंक बनाएको छ । सिटीले हारबाट सिजनको सुरुवात गरेको छ ।
अर्को खेलमा वेस्ट हाम युनाइटेडले न्युक्यासल युनाइटेडलाई उसैको मैदानमा ४–२ गोलले हरायो । वेस्टहामका लागि आरोन क्रेसवेलले १८औं, साइद बेनराह्माले ५३औं, थोमस सोउसेकले ६३औं र मिचाइल एन्टोनियोले ६६औं मिनेटमा गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता न्युक्यासलले लिएको थियो । पाँचौं मिनेटमा क्यालम विल्सनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए । ४० औं मिनेटमा जेकब मर्फीले गोल गरेपनि न्युक्यासलले हार टार्न सकेन । जितसँगै वेस्ट हामले तीन अंक बनाएको छ । न्युक्यासलले हारबाट सिजनको सुरुवात गरेको छ ।