एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा सुक्रबार राति भएको खेलमा बेटिस र क्याडिज १–१ गोलको बराबरीमा रोकिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलमा सुरुवाती अग्रता पाहुना टोली क्याडिजले लियो । ११औं मिनेटमा अल्भारो नेग्रेडोले पेनाल्टीमार्फत गोलको खाता खोले । डिबक्सभित्र बेटिसका गोलरक्षक रुई सिल्भाले क्याडिजका एन्टोनी लोजानोलाई खराव ट्रयाकल गरेपछि क्याडिजले पेनाल्टी पाएको थियो ।
त्यसपछि बेटिसले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । बेटिसका लागि जुआनमीले बराबरी गोल गरे । उनले इडगर गोन्जालेजको पासमा गोल गरेका थिए ।
जारी लिगमा बेटिस र क्याडिजको यो लगातार दोस्रो बराबरी हो । नयाँ सिजनको सुरुवाती खेलमा पनि यी दुबै टोली १–१ गोलको बराबरीमा रोकिएका थिए । पहिलो खेलमा बेटिस मालोर्कासँग बराबरीमा रोकिएको थियो । क्याडिजले घरेलु मैदानमा लिभान्तेसँग एक एक अंक बाँडेको थियो । दोस्रो बराबरीसँगै दुई खेलबाट दुई अंक बनाएको क्याडिज छैटौं स्थानमा छ । समान खेलबाट दुई अंक बटुलेको बेटिस सातौं स्थानमा छ ।
लिग अन्तर्गत शनिबार राति बार्सिलोना र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ । बिल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यता पहिलो खेलमा इल्चेसँग गोल रहित बराबरीमा रोकिएको बिल्बाओ घरेलु मैदानमा बलियो बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ । बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ गोलले हराएको थियो ।