एजेन्सी । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको सिजनको पहिलो खेलमा इन्टरले जेनोआलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा इन्टरलाई जिताउन मिलान स्क्रिनिएरले छैटौं मिनेटमा खाता खोले ।
हकान कलहानोग्लुले १४औं, अर्टुरो भिडालले ७४औं र इडिन डिजेकोले ८७औं मिनेटमा गोल गरेका थिए । खेलभर इन्टरको दबाब झेलेको जेनोआले गोल गर्न लायक अवसर बनाउन सकेन । सिजनको पहिलो जितसँगै इन्टरले तीन अंक बनाएको छ । जेनोआले हारबाट सिजनको सुरुवात गरेको छ । अन्य खेलमा एटलान्टाले टोरिनोलाई २–१, ससौलोले भेरोनालाई ३–२ र लाजियोले इम्पोलीलाई ३–१ गोलले स्तब्ध बनाएको छ ।